मेयर कप तेक्वान्दोको तयारी पूरा

काठमाडौं । जैसीदेवल युथ क्लबको आयोजनामा हुने चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता माघ २५ देखि २७ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ । प्रतियोगतामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई गरी २० टिमले सहभागिता जनाउने छन् । प्रत्येक टिममा २० खेलाडी रहने गरी प्रतियोगितामा कूल चार सय खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा आयोजक जैसीदेवलका ३० खेलाडीले सहभागिता जनाउनेछन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी काजल श्रेष्ठ तथा सञ्जीव ओझाले आयोजक टिमको प्रशिक्षण सम्हालीररहेका छन् । काठमाडौं महानगरपालिका मुख्य प्रयोजक रहेको प्रतियोगिताको पुरस्कार राशि करीब २ लाख रुपियाँ छ । प्रतियोगितामा ब्वाइजर गर्ल्सतर्फ समान आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । स्वर्ण पदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई एक हजार र कांस्य पदक विजेतालाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी, वेस्ट फाइटर पुरुष महिलालाई जनही १५० अमेरिकी डलर पुरस्कार दिइनेछ ।

यसैगरी उत्कृष्ट पुम्से पुरुष महिला खेलाडी, निर्णायक तथा प्रशिक्षकलाई जनही १ सय डलर प्रदान गरिनेछ । आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतीले आफ्नो टिमबाट स्वर्ण पदक जित्ने खेलाडीलाई विदेशमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सामेल गराइने जानकारी दिए । प्रतियोगितामा सहभागी खेलाडीको सम्पूर्ण खर्च आयोजकले नै ब्यहोर्नेछ । अध्यक्ष प्रजापतीले हरेक संस्करणमा केही नयाँ गर्ने प्रयासअनुरुप यसपटकदेखि खेलाडीहरुको एक हप्ताका लागि एक लाख रुपियाँ बराबरको बिमा गरिएको बताए ।

यसैगरी उनले सम्पूर्ण टिमका लागि सहभागिता निशुल्क रहेको र सम्पूर्ण खेलाडीका लागि टिसर्ट प्रदान गर्नुका साथै ब्रेकफास्ट, लन्च र डिनरको व्यवस्था गरिएको जानकारी पनि दिए। प्रशिक्षक तथा निर्णायकलाई पनि ज्याकेटको व्यवस्था गरिएको छ।

Source: www.kheladi.com

Leave a Comment